अपराधीहरु दूलो भित्र पसेपनि बाहिर ल्याउँछु : प्रहरी निरीक्षक नायक

समाचार

8/3/2019

रौतहट, १८ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले अपराधीहरु दूलोभित्र पस्ने गरेको दाबी गरेका छन् ।

विगत केही महिनादेखि अपराध अनुसन्धान टीमका नेतृत्व समेत गर्दै आएका प्रहरी निरीक्षक नायकले अनुसन्धान गरी पक्राउ गर्ने कार्य तीव्र पारिएपछि अपराधीहरुमा हड्कम्प मच्चिएको ठोकुवासमेत गरेका छन् ।

केही दिनदेखि विभिन्न मुद्दाका फरार अभियुक्तको साथै अपराध गर्ने कार्यमा संलग्न रहेको आरोपितहरुको नियन्त्रण गर्ने अभियान कडाईका सञ्चालन गरिएकोले रौतहटमा आपराधिक कार्य गर्नेहरुको हिम्मत धरासायी हुँदै गएको जिकिर गर्दै अबको केही दिनमा फरार भएका अभियुक्तहरु कानूनको पहुँचबाट उम्किन नपाउने बताए ।

अहिले तस्करीका सामान समात्ने कार्य तेजी गतिले हुदै आएको विषयमा विस्तृत जानकारी लिन निजको कार्यकक्षमा पुगेका संचारकर्मी सित संक्षिप्त कुरा गर्दै प्रहरी निरीक्षक नायकले यस्तो बताएका हुन् ।

उनले अपराध गर्ने व्यक्ति जुनसुकै दुलोभित्र लुकेमा बाहिर ल्याएर छाड्ने चेतावनी दिए । लामो समयदेखि थन्किएर राखिएको फाइल खोलेर अध्ययन अवलोकन गरी अपराधिक क्रियाकलापमा संलग्न रहेकाहरुको पक्राउ गर्ने कार्य शुरू गरिएको उनले जनाए ।

शान्ति सुरक्षा कायम गरी अपराधमुक्त वातावरण बनाउने उद्देश्यले अपराध अनुसन्धानमा दक्षता हासिल गरेका प्रहरी जवानहरुको एउटा टीम बनाइएको उल्लेख गर्दै नायकले कानूनसँग खेलवाड़ गर्नेलाई कÞानूनी दायरामा ल्याई सजाय गराउने टीमको मुख्य उद्देश्य भएको टिप्पणी गरे ।

समाजमा अशान्ति मच्चाउने तत्वलाई न्यूनीकरण गर्नका लागि कर्भट अपरेशनको संज्ञा दिइएको टीमले दिनरात मिहिनेत गरी पक्राउ गर्ने गरेको छ ।

बिहीबार करीव ४० लाखको सामानहरु भन्सार कार्यालयमा बुझाएका रौतहट प्रहरीले शुक्रबार २ जना फरार अभियुक्तसमेत पक्राउ गरेका छन् ।

क्राइम इन्भेस्टिगेशन टीमले अंगभंग मुद्दाका फरार अभियुक्त राजपुर नगरपालिका २ बस्ने १८ वर्षीय इन्ताज मियालाई गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक नायकले बताए ।

२०७६ जेष्ठ २८ गतेका दिन स्थानीय ३३ वर्षीय हुकुम मियाँलाई जग्गाको विषयमा ५ जना मिलेर कुटपिट गरी अंगभंग बनाएर फरार भएकोमा खोजतलाशको क्रममा पक्राउ गरिएको हो । प्रतिवादी बनाइएका अन्य ४ जनालाई खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

२०७६ असार ६ गतेका दिन राजपुर नगरपालिका वडा नम्बर १ बहुअरवास्थित वीरेन्द्र राजमार्गमा टेम्पू दुर्घटना गराएर फरार भएका अभियुक्त माधव नारायण नगरपालिका वडा नम्बर ३ सखुअवा बस्ने टेम्पू चालक अजय कुमार महतोलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

दुर्घटना पछि फरार भएका महतोलाई ४० दिनमा प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।

विहान साढे आठ बजेको समयमा भएको टेम्पू दुर्घटनामा स्थानीय यमुनामाई नगरपालिका ४ सरुअठा बस्ने २६ वर्षीय महमद वकिलको घटनास्थलमै मृत्यु भएको थियो भने भारत विहार मोतिहारी जिल्ला ग्राम सिरसिया बस्ने १८ वर्षीया पम्पी कुमारी तिवारी गम्भीर रुपमा घाइते भएका थिए ।

तिवारीको बायाँ खुट्टा काटिएको र घुडामुनि भाँची घाइते भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको महतोमाथि सवारी ज्यान मुद्दामा रौतहट जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरीले बताएको छ ।

त्यस्तै सिमा नाकाबाट हुने भन्सार छली अवैध चोरी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको क्राइम इंवेस्टिगेसन टीमले २ लाख ५५ हजार ५ सय मूल्य बरावरको सामानहरु नियन्त्रणमा लिएको छ ।

गौर नगरपालिका वडा नम्बर ३ बाट २९ हजार १ सय बराबरको चप्पल, गौर भन्सार अगाडीबाट ६२ हजार ६ सय मूल्य बराबरको कपडा, वडा नम्बर ४ बाट १ लाख ३० हजार ८ सय मूल्य बराबर १ बोरा मोटर साइकलको ट्यूब तथा यमुनामाई गाउँपालिका ४ बाट ३३ हजार मूल्य बराबरको सुर्तीजन्य सामग्री पक्राउ गरिएको हो ।

पक्राउ परेका सामानहरु आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ