रौतहट, ४ बैशाख । प्रहरी नायव उपरीक्षक भुनेश्वर साहले अपराध समाजको अभिन्न अंग भएकोले पूर्णरुपमा कहिल्यै पनि समाप्त नहुने बताएका छन् ।
रौतहटको राजदेवी नगरपालिका वडा नं.८ लक्ष्मीपुर वेलविछवा स्थित प्रहरी चौकीको कार्यालयमा मंगलवार आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै डिएसपी साहले समाजले सकृयता देखाएमा हदसम्म अपराधलाई न्यूनीकरण गर्न सक्ने धारणा राखे ।
उनले कानुनले भनेको कार्य नगरेमा वा नगर्न भनेको कार्य गरेमा अपराध हुने बताए । समाज भित्रै अपराध हुने गरेकोले प्रहरीले चाहेर पनि जरैबाट समाप्त पार्न नसक्ने उनको तर्क रहेको छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका प्रहरी नायव उपरिक्षक साहले प्रहरीमा परिवर्तन आएको दावी गरे । पहिलाको प्रहरी र अहिलेको प्रहरीको संरचनामा आमुल्य परिवर्तन आएको बताउँदै प्रहरी जनतामुखि सेवा प्रवाह गर्न लागेको बताए ।
मुलुकमा परिवर्तन भएकोले विस्तारै विस्तारै सवै क्षेत्रमा सुधारको साथै परिवर्तन भएको बताए । प्रहरी नायव उपरिक्षक साहले भने संगठनको प्रभावशाली बनाई शान्ति सुरक्षा कायम गर्नमा सफलता हासिल गर्ने उद्देश्यले तालिमको प्रभावको मुल्यानकन गर्न लागिएको जनाए ।
प्रहरी जवानदेखि सिनियर प्रहरी अधिकृत, नागरिक समाजका अगुवा, राजनीतिकर्मी बुद्धिजीवी लगायत विभिन्न पेशा क्षेत्रमा आवद्ध भएका सित प्रहरीको कार्य क्षमता, शैली, जनताप्रतिको जवावदेहिता, पारदर्शिताको अध्ययन गर्न लागेको बताउँदै काम गर्ने क्रममा मानिस सित सामान्य त्रुटी हुने प्रष्ट पारे ।
कार्यक्रममा सहभागी भएकाहरुले सेवाग्राही फर्ममा उल्लेख गरिएका प्रश्नको जवाफको साथै राय सुझाव दिएका छन् ।
तपाईको प्रतिक्रिया