विराटनगर, १६ साउन । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले एक महिनाभित्रै विराटनगरको एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटन हुने जानकारी दिएका छन् ।
‘गत वर्ष नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वीरगन्जको आइसिपी उद्घाटन गर्नुभयो, जुन नेपाल–भारत व्यापारमा ‘गेम चेन्जिङ’ परियोजना हो,’ राजदूत पुरीले भने, ‘अब चाँडै मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन र विराटनगर आइसिपी पनि उद्घाटन हुँदैछ ।’
काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीको सपनाका रूपमा रहेको नेपाल जोड्ने आन्तरिक जलमार्ग पनि चाँडै नै बन्न सक्ने पनि उनले बताए । कार्यक्रममा भारतको उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव एन शिवासैलामले पछिल्लो समय नेपाल र भारतबीचको व्यापारले धेरैको ध्यान खिचिरहेको बताए ।
‘दुई मुलुकबीचको नाकाका विषयहरूलाई सरलीकरण गर्नुपर्छ, त्यसो हुँदा व्यापारसम्बन्धी मुद्दाहरू आउनेबित्तिकै हामीले समाधान गर्ने गरेका छौँ,’ उनले भने ।
तपाईको प्रतिक्रिया