आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ

समाचार

10/26/2019

रौतहट ९ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नै श्रीमानको हत्या गर्ने श्रीमतीलाई पक्राउ गरेको छ ।

रौतहटको गौर नगरपालिका वडा नं. ५ कोइरीटोल बस्ने जरिना खातुनलाई श्रीमान हत्या गरेको आरोपमा बिहीबार रौतहट प्रहरीले पक्राउ गरेका छन् ।

श्रीमती जरिनाले गत कार्तिक ४ गते आफ्नै श्रीमान ३५ वर्षीय इस्लाम अंसारीको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नबिन कार्कीले जनाएकाका छन् ।

मृतक अन्सारीले अत्याधिक मादक पदार्थ सेवन गरी सुत्ने खाटबाट लडी घाइते भएको र जिल्ला अस्पताल गौर उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो तर सूचनाको आधारमा शंका लागेर प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धान टोलीले घटनास्थमा जाँच मुचुल्का समेतको कार्य सम्पन्न गर्दा उक्त मृतकका शव शंकास्पद देखिएकोले उक्त घटनाबारे थप अनुसन्धान गर्ने क्रममा मृतक अन्सारी र उनका श्रीमतीको प्राय घरायसी झगडा पर्ने गरेको र राति ११ बजेको समयमा श्रीमान श्रीमतीको वादविवाद हुंदा मृतक इस्लाम अन्सारीको श्रीमती जरिना खातुनले आवेशमा आई प्लाष्टिकको डोरीले घाँटीमा कसी मारेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मृतकका श्रिमती जरिनाले घटना लुकाउन गाउँ घर छर छिमेकमा श्रीमानले मादक पदार्थ सेवन गरी लडेको कारण अस्पताल लैजान हार गुहार गरेको थियो ।

अभियुक्त जरिना खातुनलाई ज्यान सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ