आर्थिक हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

समाचार

7/30/2019

जनकपुरधाम, १४ साउन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७४/२०७५ मा विद्युतीय सामग्रीहरू खरिदमा ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग मिलेमतो गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

एउटै व्यक्तिलाई तीन वटा फर्मको नाममा टेण्डर हाल्न लगाएर सत्याको दररेट स्वीकृत गरेको तथा प्रतिस्पर्धालाई सीमित बनाउन टेण्डर टुक्र्याएको तथा एउटै आर्थिक वर्षमा पटकपटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी विद्युतीय सामग्रीहरू खरिद गेको अख्तियारको दाबी छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायव सुव्बा अव्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ