आलमको बयान लिने कार्य शुरू

समाचार

11/6/2019

रौतहट, १९ कार्तिक । बमकाण्डको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमंत्री महमद आफताव आलमको थुन्छेक प्रक्रिया शुरू भएको छ ।

११ जना माथि अभियोग लगाई जिल्ला सरकारी वकील कार्यालयले अभियोग पत्र साथै रौतहट जिल्ला अदालतमा पेश गरेका आलमको बयान लिने कार्य प्रारम्भ भएको हो ।

जिल्ला न्यायधीश दीपक ढकालको इजलासमा मुद्दा परेकोले सम्पूर्ण कार्यवाही त्यही इजलासबाट हुने भएको छ । मिसिल अध्ययन गर्नको लागि समय लागेकोले आलमको व्यान लिने कार्यमा मंगलवार ढिलाई भएकोले २० मिनेटको करीवमा शुरूवाती व्यान लिने कार्य भएको जिल्ला अदालतले जनाएको छ ।

पहिलो दिन परिचय सम्मको बयान सकिएको छ । बुधबारदेखि बयान लिने कार्य फेरी शुरू हुनेछ । बयान सकिने लगतै थुन्छेकको बहस शुरू गरिनेछ ।

२०६७ चैत्र २७ गते भएको बम विस्फोटमा घाइते भएका बम बनाउनेहरुलाई जिउँदै ईटा भट्टामा हालेको भनी लगाइएको आरोपमा अनुसन्धानको क्रममा सांसद आलम गएको असोज २६ गते पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकील कार्यालयले तीन वटा कसूर अपराध सहित ११ जना माथि मुद्दा दर्ता गराएको छ । १० जना माथि कर्तव्य ज्यानको अभियुक्त बनाइएको छ भने एक जनालाई घटना हेरेर लुकाउने प्रयास गरेको भनी मतियारको रुपमा गौरी शंकर साहलाई आरोपित बनाइएको हो ।

सरकार पक्ष र प्रतिवादी पक्ष गरी दुई दर्जन कानून व्यवसायी रहेको उक्त मुद्दामा बयानपछि अभियोजन पक्षले अनुसन्धानको क्रममा संकलित सबुत प्रमाणले दोषी देखिएको आलमलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग राख्दै बहस गर्नेछन् भने अभियुक्तको पक्षमा रहेका कानून व्यवसायीहरुले अहिले संकलित प्रमाणबाट पक्राउ परेको आरोपित कसूरदार नदेखिएकोले पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई साधारण तारीखमा राखेर मुद्दाको बाँकी कार्यवाही गर्नुपर्ने इजलास समक्ष आग्रह गर्नेछ ।

आलमका लागि जिल्ला अदालत वरिपरि व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ भने अदालतको आदेश सुन्न उत्सुक रहेका समर्थकहरु दिनभरि अदालतको छेउमा बस्ने गरेको देखिन्छन् ।

न्यायपालिकामा सुनवाईको क्रममा रहेको मुद्दामा जूनसुकै आदेश आएपनि त्यसको सम्मान गर्ने आलम समर्थकहरुको भनाइ रहेको छ । कानून व्यवसायीहरुको संख्या बढी भएकोले आदेश हुने अवधि बढन सक्ने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ