रौतहट, ८ कार्तिक । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई थप ८ दिनको म्याद थप गरिएको छ ।
छानबिन गर्न प्रहरीले म्याद थपका लागि जिल्ला अदालत रौतहटमा पेश गरेको थियो ।
रौतहटका न्यायाधीश केशव पाण्डेको इजलासले आलम विरुद्धको अनुसन्धान नसकिएपछि अदालतले थप ८ दिनको म्याद थप गरेको अदालतका श्रेष्तेदार गुणराज पराजुलीले जनाएका छन् ।
यसअघि थपिएको ५ दिनको म्याद बिहीबार सकिएपछि आलमलाई शुक्रबार अदालत लगेर म्याद थप गरिएको हो ।
शनिबारदेखि तिहार बिदा पर्ने भएकाले १४ गते अदालत खुलेपछि मात्रै उनलाई अदालतमा पेश गर्ने गरी म्याद थप गरेका हुन् ।
आलम गत असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै प्रहरीले अदालतमा पेश गरेर ७ दिनको म्याद थपि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान लम्बिँदै गएपछि आलम विरुद्ध तेस्रो पटक म्याद थप गरि अनुसन्धान गर्न लागिएको हो । आलम रौतहटको राजपुरमा बम विस्फोटपछि घाइतेहरुलाई ईट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका हुन् ।
तपाईको प्रतिक्रिया