आलम गए कारागार

समाचार

11/16/2019

रौतहट, ३० कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै चिमनीमा जलाएको अभियोगमा पक्राउ परेका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका निलम्वित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालत गौरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

१० दिनसम्मको थुनछेक बहस सकेपछि जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

कार्तिक १८ गते अभियोग पत्रसहित पेश गरिएको आलमको बयान सकिएपछि बुधबारदेखि थुनछेक बहस शुरू भएको थियो र ८औं दिन आदेश आएको छ ।

जिल्ला अदालतका उपसचिव गुणराज पराजुलीले अदालतले कर्तव्य ज्यान, विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योगको आरोपित आलमलाई मुद्दाको विशेषता, गम्भीरता, सम्वेदनशीलतालाई ध्यानमा राख्दै पछि हुने गरी हाललाई मुलुकी फौजदारी कार्यविधि संहिंता २०७४ को दफा ६७ को उपदफा १ ख बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको जनाएका छन् ।

अदालतले आरोपित उच्च रक्तचाप तथा मधुमेह रोगको विरामी भएकोले सुविधा सम्पन्न अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाउन समेत कारागार कार्यालयलाई आदेश दिएको श्रेस्तेदार पराजुलीले बताए ।

जाहेरवाला तथा नेपाल सरकारको साक्षीको समेत ज्यूज्यान धनको सुरक्षा व्यवस्था मिलाउने गरी सामरक्षात्मक आदेश दिएको छ ।

सुविधा सम्पन्न कारागारमा हस्तान्तरण गर्नुपर्ने भएमा कारागार व्यवस्थापन विभागलाई समेत अनुमति प्रदान गरेको छ । १० पृष्ठको आदेश साँझ ६ बजेर १५ मिनेटमा सार्वजानिक गरिएको थियो ।

आलमलाई लिएर सदरमुकाम गौरको विभिन्न ठाउँ लगायत अदालतको वरिपरि व्यापक सुरक्षा व्यवस्था कड़ा बनाइएको थियो ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा पछि भएको पहिलो संविधान सभाको निर्वाचनको मतदान पूर्व संध्या २०६४ चैत्र २७ गते बेलुकी साढ़े ६ बजेको समयमा आफ्नो काका शेख इदरीसको गोठमा बूथ क्याप्चरिंग गर्ने उदेश्यले बनाउन लागेको वम विस्फोट हुदा घाइते भएका छोरा त्रिलोक प्रताप सिंह पिंटू र ओसी अख्तर घाइते भएकोमा उपचार गराउनुको साटो जिउदै ईटा भट्टामा हालेर लाश समेत गाएव गरेको भन्दै मृतक पिंटूका बूबा श्रीनारायण सिंह र अख्तरका आमा रोक्साना खातूनले दिएको कीटाणी जाहेरीको आधारमा आलमलाइ रौतहट प्रहरीले घटना भएको ११ वर्ष पछि गएको असोज २६ गतेका दिन इदरीस गेट नजिकबाट हिरासतमा लिएका थिए ।

आदेशपछि आँखाभरि आँसु लिएर आलम अदालतबाट बहिरिएका थिए संचारकर्मीले सोधे पनि आलम मौन बसे । अभियोजनकर्ता नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता सूर्यराज दहाल, उपन्यायाधिवक्ता अर्जुन प्रसाद कोइराला, विद्वान जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, रूद्र प्रसाद पंथी, सहायक जिल्ला न्यायाधिवक्ता राम प्रसाद पंथीसहित ५ जनाले थुनछेक बहस गरेका थिए ।

जाहेरवाला श्रीनारायण सिंहको तर्फबाट वरिष्ठ अधिवक्ताहरु डाक्टर युराज संग्रौला, डाक्टर श्रीकुमार शर्मा आचार्य, दिनेश त्रिपाठी, अधिवक्ता आशिकराम कार्की, गोविन्द शर्मा बंदी, पुष्पराज पौडेल, ओमप्रकाश अर्याल र मनीष कुमार श्रेष्ठ गरी ८ जनाले बहस गरेका थिए ।

प्रतिवादी आलमको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ताहरु प्रेम बहादुर खडका, अनिरुद्ध महतो, शेरबहादुर केसी, रमन कुमार श्रेष्ठ, यदुनाथ खनाल, गोपाल कृष्ण घिमिरे, अधिवक्ताहरु ब्रह्मदेव प्रसाद, सुनील पोखरेल, योगेंद्र बहादुर अधिकारी, सतीश कुमार झा, लालबाबू राय यादव, संजीव कुमार मल्लिक, कृष्ण घिमिरे, रामदरेश प्रसाद, रामविनोद कुमार गिरी, अनन्त अधिकारी, मोहमद मजरुल हक, राजाराम राय यादव, हरिशंकर प्रसाद साह, नन्द किशोर साह, रामविनोद प्रसाद पटेल, सुरेश तिवारी, सवुरीलाल ठाकुर, रामबहादुर दास, शेख आविद हुसैन, किशोर राउत, अफताव आलम र अजय कुमार पटेलसहित २८ जनाले प्रतिरक्षात्मक बहस गरेका थिए ।

अदालत समक्ष आलमले ब्यान गर्दा राजनीतिक प्रतिशोध साध्नका लागि झूठा आरोप लगाएको भनी जिकिर गरेका थिए ।

निर्वाचनको समयमा बम विस्फोट भएको भनी जाहेरवाला श्रीनारायण सिंह राजपूत, सफी अहमद शंकर भनिने गौरीशंकर राम, प्रहरी निरीक्षक पपु नायक, प्रहरी नायव निरीक्षक दीपक कुमार गुप्ता गवाह रहेका छन् भनी घटना देखने हरुमा सरजूल मिया, मेवालाल राय यादव, रवि कुमार, रामसागरथ यादव, धरीक्षण साह तेली, शिव साह कानू, असगर अली खाँ, राजेश कुमार, शैलेन्द्र साह, उदय नारायण साह, राम बहादुर साह, सुनार राम, विजेंद्र साह, शेख ओलजाहिर, राजेश प्रसाद सहनी, उमा शंकर साह, गेनालाल साह कानू, शंकर साह तेली, परिक्षण साह तेली र हरिनारायण साह रहेका छन् ।

अभियोग पत्रमा उल्लेखित घटना भएको सुन्नेहरुमा समसुल मियाँ, मोहमद जाजुल मियाँ, आमना खातून, ओहिद मियाँ कवाडी, सहजान खातून, कलाम मियाँ, जफरुल मियाँ, कमला देवी सिंह, जालिफ अंसारी, लखींद्र पटेल प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुबेदी, प्रहरी नायव उपरीक्षक राजीव बहादुर बस्नेत, प्रहरी नायव निरीक्षक ईश्वर विक्रम साह, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक किरण कुमार गौतम, पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा, प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम कडेल अनुसन्धानको क्रममा कागज गरेका हुन् । अभियोग पत्रमा कागज गर्नेहरुलाई समेत बुझी पाउनलाई माग गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ