सुनसरी, ९ भाद्र । सडकमा भएका खाल्डाखुल्डी पुर्न र टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासीन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् ।
सडक सुशासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयहरुसँग गरेको छलफल कार्याक्रममा आक्रोश जनाएका हुन् ।
छलफलमा इटहरी वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भट्टराईले टयाङ्गग्रापूल मर्मतमा सडक डिभिजन कार्यालयले देखाएको ढिलासुस्ती र गुणस्तहीन कार्यको बारेमा ध्यानाकर्षण गराएका छन् ।
उनले सडकमा भएका खाल्डाखुल्डी पूर्न र टयाँग्राखोलाको पूल मर्मतमा किन लापरवाही गरिएको होे प्रश्न गरे । काम भएपनि टालटुले काम हुने र निर्माण नसकि भत्किने बताए ।
इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीको पटक पटकको ताकेतामा टयांग्रापूलको मर्मत भएपनि पून भत्किएको छ । दुवै तर्फका रेलिङ्ग भत्किएका कारण दुर्घटनाको जोखिम बढेको छ ।
टयाङ्गग्रापूल पूर्व पश्चिम सडक खण्डमा पर्ने इटहरी बजारमै रहेको पूल हो । जुन पुल भएर दिनमा हजारौ सवारी साधन गुड्छन् । सडकमा दर्जनौ खाल्डाखुल्डीका कारण यातायात आवागमनमा समस्या छ ।
सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर कैलाश देवले भने सडक मर्मतमा वर्षमा सालवसाली टेण्डर हुने र त्यो साउन भदौमा मात्र हुने जनाए ।
यसवर्षको टेण्डर नै अझै नखुलेको बताए । अहिले अमानतीमा कार्य भएकाले प्राथमिक उपचार जस्तो मात्र भएको सुनाए ।
वडाध्यक्ष भट्टराईले आक्रोश जनाए, “विपद प्रकोपका बेला भएका खाल्डाखुल्डी पूर्न टेण्डरै कुर्न मिल्छ ? यदि सडक डिभिजनले सक्दैन भने सक्दिन भन्नुपर्यो हामी गछौ ।”
राजमार्ग संघीय सरकारअन्तर्गत भएकाले स्थानीय तहले सडकमा खर्च गरे वेरुजु आउने समस्या भएकाले काम गर्न नमिल्ने अवस्था छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रिजालले आवश्यकता र औचित्यका आधारमा सडक र पूल मर्मत गर्नुपर्नेमा जोड दिए ।
उनले संघीय सरकारले सडक वनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरे उपयुक्त हुने धारणा राखे ।
तपाईको प्रतिक्रिया