इटहरी, २४ मंसिर । चर्चित बालगायक प्रीतम आचार्यलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ ।
लैंगिक हिंसा विरुद्धको प्रथम इटहरी सम्मेलनको अवसरमा बालगायत आचार्यलाई नगद रु. ५१ हजारसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकासमन्त्री जीवन घिमिरेले सम्मान गरे ।
भारतको जीटिभिबाट प्रसारण हुने चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा प्रितम तेश्रो भएका थिए । इटहरी ५ का ११ वर्षीय बालक प्रितम आचार्यलाई इटहरी उपमहानगरको कार्यपालिका बैठकले ५१ हजारसहित सम्मान गर्ने निर्णय गरेको थियो ।
नियमानुसार कर कटौती गरेर पुरस्कारसहित सम्मान गरिएको हो । इटहरी उपमहानगरले गरेको सम्मानबाट आफू उत्साहित भएको प्रितमले बताए ।
प्रितमलाई सारेगम लिटिल च्याम्सका लागि भारत जानुअघि इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा र नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।
तेश्रो भएर नेपाल आउँदा उनलाई नगरपालिका परिसरमा भव्य स्वागत गरिएको थियो ।
तपाईको प्रतिक्रिया