रौतहट, २१ मंसिर । रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५औं खुल्ला दिसामुक्त नगरपालिका घोषणा भएको छ । यससँगै रौतहटमा १७ स्थानीय तह खुल्ला दिसामुक्त भइसकेका छन् ।
२ वटा गाउँपालिका र १५ नगरपालिका खुल्ला दिसामुक्त भइसकेका छन् भने १८औं स्थानीय तहको रुपमा शुक्रबार वृन्दावन नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुने कार्यक्रम समेत रहेका छन् । वृन्दावन पछि जिल्ला खुल्ला दिसामुक्त घोषणा हुने छन् ।
नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको खुल्ला दिसा मुक्त घोषणा समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादवले नगरपालिका खुल्ला दिसा मुक्त घोषणा र प्रतिवद्धता पत्र बाचन गर्दै ईशनाथ नगरपालिका खुल्ला दिसामुक्त नगरपालिका भएको घोषणा गरेका छन् ।
घोषणा र प्रतिवद्धता पत्रमा “रौतहट जिल्ला ईशनाथ नगरपालिकाका हामी सम्पूर्ण व्यक्तिहरुले राष्ट्रिय सरसफाई गुरु योजना २०६८ को मार्ग दर्शन अनुरूप एक घर एक चर्पी प्रवर्दन गरी आजका मितिसम्ममा सम्पूर्ण घरहरुमा शौचालयको निर्माण तथा प्रयोग गरिएको हुँदा यस नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गर्दछौ । यस घोषणा पश्चात् पानी सरसफाईका गतिविधिहरुलाइ निरन्तरता दिदै सरसफाईका प्रवर्द्धनमा जुटिरहने तथा साबुन पानीले हातधुनें बानी व्योहोराको विकास गर्न सहकार्यमा जुटने उपस्थित सम्पूर्ण महानुभाव समक्ष सामूहिक प्रतिवद्धता गर्दछौं’ भनी उल्लेख रहेको छ ।
नगरप्रमुख संतोष मेहताको सभापतित्वमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि यादवले नेपालले सरसफाईको क्षेत्रमा गरेको कार्य छिमेकी मुलुक भारतमा चर्चाको विषय बनेको बताएका छन् । भारतका स्थानीयले नेपाल कति छिटो सरसफाईको क्षेत्रमा अघि बढेको भनी रहेको बताउँदै अध्यक्ष यादवले स्वस्थ जीवनको लागि सरसफाई नै मुलभुत आधार भएको दावी गरे ।
खुल्ला दिसा मुक्त घोषणा भए पनि यसलाई निरन्तरता दिनु पर्ने सवैलाइ सुझाव दिए । कार्यक्रममा समन्वय समितिका उपाध्यक्ष राम असीस यादवले नगरपालिका खुल्ला दिसा मुक्त घोषणा भैरहेको बेलामा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थति दुखद भएको टिपण्णी गरे ।
मधेशी समुदायको विकास हेर्न अहिले पनि खास शासक वर्गले हेर्न नचाहेको प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको अनुपस्थितिले पुस्टि गरेको उहाको भनाइ रहेको छ । नेपाल पत्रकार महासंघ रौतहटका सभापति रविन्द्र प्रसाद साहले सरसफाईले बातावरण स्वच्छ हुने हुदा सर सफाई तर्फ निरन्तर लाग्नु पर्ने बताए ।
स्वास्थ्य नै धन हो भन्दै सभापति साहले खुल्ला ठाउमा दिसा ,फोहर गर्दा त्यसमा भएका कीटाणुहरु स्वासको माध्यमले मानिसको शरीरमा प्रवेश गर्ने र त्यसलाई आफ्नो शिकार बनाउने गरेको सचेत गराए ।
कार्यक्रमको समापन गर्दै मेयर मेहताले नगरको सरसफाईमा निरन्तर जुटिरहने बाचा गरेका छन । पूर्ण सरसफाई योजना लागू गरेर भएका कमी कमजोरीलाई निरुत्साहित गर्दै जाने प्रतिवद्धता जनाए । मेयर मेहताले नगरको विकासमा सवैको सहयोग अपरिहार्य भएकोले सहयोग गर्न अपील समेत गरे ।
समारोहमा शौचालय निर्माणमा सहजीकरण गरेका गैर सरकारी संघ सस्थाको साथै निर्वा्चित वड़ा अध्यक्षहरु , नगरकार्यपलिका सदस्य , संचारकर्मी ,महिला स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र तथा दोसल्ला सहित सम्मानित गरिएको थियो । कार्यक्रमको सञ्चालन यूनिसेफका प्रतिनिधि राजन साहले गरेका थिए ।
तपाईको प्रतिक्रिया