दिनेश ठाकुर, नेपालगञ्ज, १६ कार्तिक । बाँकेको डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह बाबा मजार उत्कृष्ट एकसय नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएको छ ।
पर्यटकीय स्थलको प्रवद्र्धनका लागि सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको हो ।
जस अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाँकेको कम्मर शाह बाबा मजार सहित सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । डुडुवा गाउँपालिका ५ कम्दीमा पर्ने कम्मर शाह मजार हिन्दु र मुस्लिम समुदायको आस्थाको धरोहरको रुपमा रहेको छ । यहाँ हरेकबर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ ।
हिन्दु र मुस्लिम समुदायले मिलेर संचालन गर्ने मेलामा भारतबाट समेत हजारौं दर्शनार्थी आउने गरेका छन् । स्थानीय अगुवा जमील खानले सरकारको उत्कृष्ट एकसय नयाँ गन्तव्यमा कम्मर शाह मजार पर्नु जिल्लाबासीका लागि गौरवको विषय भएको बताए ।
यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवद्र्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।
मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।
बाँकेमा बागेश्वरी मन्दिर, गाभर भ्याली र बाँके राष्ट्रिय निकुञ्ज स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय स्थलको रुपमा छनौट भएका छन् ।
तपाईको प्रतिक्रिया