रौतहट, २९ असार । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ ढोलबाजा टोलमा नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले मारपिट गर्दा २ जना घाइते भएका छन् ।
प्रतिनिधि सभा सदस्य प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहासहित निरीक्षण गर्न गएका मेयर कुशवाहाले दुई जनालाई बैड र विकेटले प्रहार गरेको स्थानीयहरुले बताएका छन् ।
जम्मा भएको पानी निकासका लागि बाटो काट्दै गरेकोमा मेयरले कुटपिट गरेको स्थानीयहरुको भनाइ रहेको छ ।
मेयर कुशवाहाको प्रहारबाट स्थानीय राजदेव महतो र राम अज्ञा महतो घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको स्थानीय उपेन्द्र कुशवाहाले बताएका छन् ।
बाटो कोदालोले काटिरहेको अवस्थामा अहिलेको समयमा यस्तो नगर्न भन्दा म माथि जाइलागेपछि सँगै रहेका समर्थकसँग हल्का धक्कामुक्की भएको मेयर कुशवाहाले बताए । मेयर कुशवाहाले कुटपिट नगरेको दावी गर्दै राजनीतिक हिसावले बदनाम गर्न खोजेको बताए ।
तपाईको प्रतिक्रिया