काठमाडौं, ७ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले काठमाडौंको आँखीझ्यालबाट चियाएर मधेशीलाई देखाएर भूतप्रेत भनेर परिचय नगराउन आग्रह गरेका छन् ।
डा.राउत नेतृत्वको जनमत पार्टीले काठमाडौंमा आयोजना गरेको ‘रंगभेद विरुद्ध एकता सभा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन कार्यक्रम’मा सम्बोधन गर्दै यस्तो आग्रह गरेका छन् ।
डा.राउतले भनेका छन्, ‘हामीले खोजेको यत्ति हो कि मधेशीलाई मानवको श्रेणीमा राखियोस् । मधेशीलाई मानव सरह व्यवहार गरियोस्, हामीले खोजेको यत्ति हो ।’
‘हाम्रा सन्तानहरू निर्भिक भएर आफ्नो शीर ठाडो पारेर यो भूमिमा हिँड्न सकून्, हामीले खोजेको यत्ति हो ।’
उनले भने, ‘हाम्रा सन्तानहरू निर्धक्क काठमाडौंका कलेज र स्कूलहरू जान सकून्, हामीले खोजेको यत्ति हो ।’
कालो भएकै कारणले कक्षाकोठामा उनीहरू रंगभेदको शिकार हुनुपरेको भन्दै कालो भएकै कारण उनीहरू जागिरबाट वंचित नहोऊन् बताएका छन् ।
उनले सम्बोधनको क्रममा भनेका छन्, ‘कसैको आत्मसम्मान पुलिस र सेनाको बूटले न कुल्चिऊन्, कसैको आवाज बन्दुकको नालले बन्द नगरिओस्, । कसैको स्वतन्त्रतता हाथमा हथकडी लगाएर अपहरित नहोस् ।’
तपाईको प्रतिक्रिया