कपिलवस्तु, २८ बैशाख । किसानलाई खेती गर्नका लागि मलखाद्यको चरम अभाव भएको बेला मिलोमतोमा उद्योगपतिलाई व्यवसायिक रुपमा मलखाद्य वितरण गरिएको रहस्य खुल्न आएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालको गृह जिल्लाका किसानले मल नपाएको बेला सोही जिल्लामै व्यवसायिक प्रयोजनका लागि भने निर्वाध आपूर्ति भइरहेको छ ।
जिल्लामा ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इन्डष्ट्रिज र पशुपति प्लाइउड इन्डष्ट्रिज कम्पनी लोहरौलाबाट भारी मात्रामा युरिया मल नियान्त्रण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकी आधारमा २६ सय ४० बोरा मल नियन्त्रणमा लिएको हो । ४ सय ४० बोरा मल कम्पनीमै शील गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ ।
चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कलकता बन्दरगाह हुँदै भैरहवा भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो ।
शनिबार बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले जानकारी दिए ।
युरिया मल कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उनले बताए ।
युरिया मल औद्यौगिक प्रयोजनका लागि हो कि कृषि प्रयोजनको हो ? भन्ने विषयमा एकिन नभएकाले नियन्त्रणमा लिइएको प्रजिअ पोखरेलले बताए ।
किसानहरुले समयमा मल नपाउँदा चिन्तित भएको बेला उद्योगमा भारी मात्रमा मल भेटिएको हुनाले शंका गरिएको छ ।
कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरी भने हामीले मलका लागि भौतारीरहेका छौ । तर, कम्पनीमा ६६ टन युरिया मल कहाँबाट आयो ? यो सोचनिय विषय भएको छ ।
जय अम्बे प्लाइउड इन्डष्ट्रिजका सञ्चालक मनोज कनोडिया र पशुपति प्लाइउड इन्डष्ट्रिका सञ्चालक अशोक कुमार अग्रवाल सम्पर्क नरहेको पाइएको छ । पटक पटक किसानहरुले मलखादका लागि सरकारसँग माग गर्दा भने किसानहरुले खेती गर्न मल पाएका छैनन् ।
तपाईको प्रतिक्रिया