कपिलवस्तु, ४ पुस । स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभरका स्थानीय तहको कार्यालयको कामकाज ठप्प भएको बेला कपिलवस्तुको मायादेवी गाउँपालिकामा पनि कामकाज ठप्प पारेका छन् ।
निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएपछि त्यसको विरोधमा बुधबार मायादेवी गाउँपालिको कार्यालयको कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी राजन कुमार पोखरेलले जानकारी दिए ।
निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि अध्यादेशविरुद्ध आन्दोलनमा जान बाध्य हुनु परेको स्थानीय तहमा कार्यरत कर्मचारीहरुको भनाई छ ।
कर्मचारी समायोजन अध्यादेशको विरोधमा स्थानीय तहका कर्मचारीले मायादेवी गाउँपालिका प्रमुखलाई बुधवार ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल सरकारबाट यही मंसिर २३ गते राजपत्रमा प्रकासन भई जारी भएको कर्मचारी समायोजन अध्यादेश २०७५ मा साविकका स्थानिय निकायमा कार्यरत कर्मचारीहरुको सम्बन्धमा कुनै पनि सम्बोधन नभएको भन्दै मायादेवी गाउँपालिकाका कर्मचारीहरुले आन्दोलन गर्नुका साथै प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।
तपाईको प्रतिक्रिया