रौतहट, ३२ जेठ । रौतहटको राजपुर नगरपालिकामा कर्मचारीहरुको आन्दोलन जारी रहेको छ ।
तीन दिनदेखि स्थानीय तहका कर्मचारीहरु धर्नामा बसेपछि नगरपालिकाको नियमित काम काज प्रभावित भएको छ ।
जेठ २७ गते भएको कार्यपालिकाको बैठकबाट करार सेवाको १९ जना कर्मचारीहरुको म्याद थप नगर्ने भनी गरेको निर्णय कानून विपरीत भएको भन्दै करार सेवाका कर्मचारीहरुले अनिश्चितकालीन धरनामा बसेका हुन् ।
स्थानीय तह कर्मचारी संघर्ष समिति राजपुर नगरपालिकाले नियम विपरीत करार सेवाको अवधि हुँदा हुँदै पनि विचमा नै १९ जना कर्मचारीलाइ खारिज गर्ने गरी गरेको निर्णय फिरता लिनु पर्ने अडान लिएर संघर्ष शुरू गरेको कर्मचारीहरुले बताएका छन् ।
प्रमुख प्रसाशकीय अधिकृत गोविन्द सिग्देलले व्यक्तिगत रिसइवीले कर्मचारीहरुलाई खारेज गरेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।
बोर्डको निर्णय खारिज गरी कर्मचारीको पदस्थापन गर्नु पर्ने, महिलासँग कार्यालयमा दुर्व्यवहार गर्ने प्रमुख प्रसाशकीय अधिकृत सिग्देल माथि कार्यवाही हुनुपर्ने मागसहित आन्दोलन शुरू गरेको कर्मचारीहरुले बताएका छन् ।
धर्नामा बसेका कर्मचारीहरुले माग पूरा नभएसम्म कार्यालयको काम काज हुन नदिने चेतावनी समेत दिएका छन् ।
प्रमुख प्रसाशकीय अधिकृतको रुपमा आएका सिग्देलले नगरपालिकाबाट सञ्चालन हुने विभिन्न किसिमका योजनाहरुमा कमीशन लिने गरेको करार सेवाका कर्मचारीहरुले दावी गरेका छन् ।
तपाईको प्रतिक्रिया