छठको आज दोस्रो दिन खरना गरि मनाउदै

समाचार

11/3/2019

रुपेन्द्र पटेल, रौतहट , १६ कार्तिक। कठोर एवम् निष्ठाको पर्व छठको दोस्रो दिन घर–घरमा विधि पूर्वक खरना गरिँदैछ । चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको दोस्रो दिन छठ ब्रतालुको साँझमा ‘खरना’ पूजा गरिन्छ ।

पहिलो दिन नुहाएर शाकाहारी भोजन खाएर उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै मीठा सख्खर र दुधबाट बनेको खिर तयार गरी चढाउँछन् । सोही खिरलाई प्रसादको रुपमा ग्रहण गरी ब्रत बस्ने गर्छन् । छठको खरना विधिका लागि नवनिर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती ‘चढावा’ तयार गरिन्छ ।

ब्रतालुले घर मूल कोठा वा कूल देवतालाई लिपपोत गरि भूइँमा केराको पात फिजाएर त्यसमाथि खिर पुरी र केरा राखेर पूजा गर्छन् । धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पूजा गर्छन् । घरको आँगन र बरण्डामा बसेर परिवारजन, छरछिमेक एवं पाहुनाले पूजा समाप्तिको प्रतीक्षा गरिरहेका हुन्छन् । घरमा पूजा नहुने विवाहित छोरी चेली पनि यतिखेर माईत आउँछन् ।

टाढा घर भएका आफन्तजन एवं मित मितिनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन् । यो पूजा सम्पन्न भएपछि व्रतालुले सबैभन्दा पहिले प्रसाद खान्छन् । त्यसपछि उपस्थित सबैलाई बाँडछन् । छठ पूजाको मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यो पूजापछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ