खरना सम्पन्न

समाचार

11/13/2018

जनकपुरधाम, २६ कार्तिक । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत सोमबार दोस्रो दिन खरना सम्पन्न भएको छ । 

जीवन पद्धतिलाई प्रतिबिम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।

खरनामा नैवेद चढाउने बेलामा जति वटा अर्घदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद चढाउने गरिन्छ । यसरी चढाइने नैवेदमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् ।

नैवेदलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेदलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ