काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका छन् । उनले यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सवलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरिबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध कार्यक्रमका साथ अगाडि बढेको पनि जानकारी दिए ।
उनले भने, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडी बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन । आफैले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदन अगाडि बढेको छ । नयाँ नेपाल यसैगरी बन्ने हो ।”
उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालेको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाईमा पुगिएको बताए ।
यस घोषणाबाट मानिस निरोगी हुने, स्वास्थ्य उपचारमा हुने खर्च घट्ने, संक्रामण रोग कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताए ।
“हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुने नदिने संकल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्र्छाै । अब समग्र सफाइ, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिषाबले नेपाल चिटिक्क छ ।” उनले भने, “सिगैँ नेपाललाई चिकिक्क बनाउने । बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।”
प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह, ७७ जिल्लाहरुले गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपालललाई खुला दिसामुक्त घोषणा गरेका छन् ।
साथै उनले सन् २०३० सम्म दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्पन पनि गरे । घोषणापछि कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्ड फहराउँदै तालीको घडगडाहटले स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया