इमरान खान, कपिलवस्तु, १६ साउन । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर बिहिवार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता माथि गोली प्रहार भएको बताइएको छ । स्थानीय रामनयन यादवमाथि गोली प्रहार भएको हो ।
यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार समेत हुन । उनी हाल समाजबादी पार्टीमा रहेका छन । गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा आउने क्रममा उक्त मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली लागेर यादव घाइते भएका छन ।
उनको अहिले तौलिहवाको जिल्ला अस्पतालमा उपचार भैरहेको बताइएको छ । स्थानीयका अनुसार उनको देब्रो पाखुरामा गोली लागेको छ । दिउँसो २ बजे गोली हान्ने अज्ञात समूहलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने अवस्था भएपनि पक्राउ गर्न नचाहेको भन्दै स्थानीय आक्रोशित भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।
यसभन्दा अगाडी यही शुद्धोधन गाउँपालिका लबनीमा दीपेन्द्र चौधरी उर्फ राजाबाबुको पनि गोली हानी हत्या भएको थियो । दिपेन्द्र चौधरी उर्फ राजाबाबु नेकपाका नेता पनि थिए उनी गाउँपालिकामा अध्यक्षमा उठेका थिए भने प्रदेशसभा सदस्य निर्वाचनको उम्मेद्वार पनि थिए ।
उक्त ठाँउमा बेला बेलामा नेताहरुमाथि गोली प्रहार हुन थालेपछि उक्त क्षेत्रका स्थानीय त्रसित भएका छन् ।
तपाईको प्रतिक्रिया