काठमाडौं, २७ कार्तिक । सिख धर्मका संस्थापक एवम् प्रथम गुरु गुरुनानक देवको ५५० औं जयन्ती काठमाडौंमा धुमधामका साथ मनाइएको छ । नेपालका सिख समुदायले पनि धुमधामका साथ यो पर्व मनाएको छ ।
कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गुरुनानक देव जयन्तीलाई प्रकाश पर्व पनि भनिन्छ । गुरुनानक देवले सिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’ को रचना गरेका हुन् । उनले जातिवादको अन्त्य गरी मानवतावादी दर्शन स्थापना गरे ।
गुरुनानक देवलाई अन्य धर्मावलम्बीले सन्तका रुपमा सम्मान गरिन्छ । यस अवसरमा काठमाडौंको पशुपतिस्थित राजराजेश्वरी निर्मल अखाडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भोजन गराइएको छ ।
यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र कुपण्डोलस्थित गुरुद्वारामा विविध कार्यक्रम आयोजना गरिएको छ ।
तपाईको प्रतिक्रिया