रौतहट, १४ असोज । गौर नगरपालिकाले बजार अनुगमन कार्य शुरू गरेको छ । चाड पर्वमा अखाद्य बस्तु विक्री वितरण गर्ने कार्यको नियन्त्रण गर्ने र चर्को मूल्यलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले बजार अनुगमन गर्न लागिएको हो ।
दशैं पर्वलाई मध्यनजर गर्दै बजार अनुगमनको कार्य अगाडी बढाइएको नगरप्रमुख अजय कुमार गुप्ताले बताएका छन् ।
चाड पर्वमा उत्पादन समयसीमा समाप्त भएको बस्तु बिक्री वितरण गर्ने, ग्राहक ठगिने कार्य हुन सक्ने सम्भावना रहेकोले बजार अनुगमन गर्न लागिएको मेयर गुप्ताको भनाइ रहेको छ ।
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार, प्रहरी, नगर प्रहरीसहितको संयुक्त टोली बजार अनुगमन गरिरहेको छ ।
टोलीले किराना पसल, पान पसल, होटल, हार्डवेयर पसल, इलेक्ट्रोनिक्स पसल, फर्चुन, कास्मेटिक, फलफूल, औषधि, कपडा पसलहरुमा उद्योग कार्यालय, कर कार्यालय, नगरपालिका कार्यालयमा व्यवसाय दर्ता, राजश्व तिरेको रसिद, पसल संचालनको अनुमति पत्र, उत्पादन मिति, बिक्री वितरणका लागि राखिएको सामानहरुको क्वालिटी चेकजाँच गर्ने गरेको जिल्ला प्रसाशन कार्यालयका प्रतिनिधि नायब सुब्बा राम नरेश साहले बताएका छन् ।
अनुगमनको क्रममा समय समाप्त भएको खानेकुरा लगायतको समान बरामद भएको छ । पसलमा फेला परेको गुणस्तरहीन, अखाद्य बस्तु जफत गरिएको नगर प्रहरीका सई राजेन्द्र प्रसाद साहले बताएका छन् ।
तपाईको प्रतिक्रिया