काठमाडौं, ११ मंसिर । नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन भनी चिनीयाँ विदेश मन्त्रलायका प्रवक्ताले हालै दिएका वक्तव्यप्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दछ ।
कम्युनिष्ट चीन सरकारका तर्फबाट आएको यो भनाई कम्युनिष्ट चरित्रअनुरुप सत्यलाई ढाकछोप गरेर झुठको खेती गर्ने कलाबिहीन नाटकबाहेक केही होइन । कालापानीबारे नेपालाई जानकारी नै नदिई भारतसँग सम्झौता गरेर चीनले नेपालको सार्वभौम सत्तामाथि नांगो आकक्रमण गरेको तथ्य सर्वविदित नै छ । यो वस्तुतथ्यलाई नकार्ने आँट आफूलाई शक्ति राष्ट्र भनाउन चाहने चीनसँग नरहेको यथार्थ पनि उक्त वक्तव्यबाट स्पष्ट भएको छ ।
यसबाहेक चीनले नेपालको भूमि ११ ठाउँमा मिचेको र आधा दर्जन सीमा स्तमभ उखेलेको आधिकारिक तथ्यसमेत सार्वजनिक भयसकेको छ ।
एकातिर नेपालको सीमा मिच्दै र सार्वभौमसत्तामाथि आक्रमण गदै जाने र अर्कातिर नेपाली भूमि अतिक्रमण नगरेको वक्तव्यवाबाजी गर्ने चीनको दुष्प्रयास कायरता, अनैतिकता र कम्युनिष्ट अधिनायकवादी चरित्रको प्रमाण हो, जसले उसको ढोंगी र षड्यन्त्रकारी चरित्र पुनः एकपटक प्रदर्शित गरेको छ ।
नेपाल रिपब्लिक पार्टी कम्युनिष्ट चीनलाई नेपाली छाडेर आफ्नो देशमा सीमित हुन चेतावनी दिन चाहन्छ । नेपालको भूमि र सार्वभौमसत्तामाथिको अतिक्रमण नेपाली जनतालाई कुनै पनि हालतमा सह्य छैन र यसका लागि नेपालीहरु जुनसुकै मूल्य चुकाउन तयार हुनेछन् भन्ने चीनले जानिराख्नु उचित हुनेछ ।
यसै क्रममा नेपालमा आफ्नो प्रभाव विस्तार गर्न बुद्धिजमलाई गलतरुपले प्रयोग गर्न लागिपरेको चीनको दुस्साहसलाई नेपाल रिपब्लिक पार्टीले गम्भीरतापूर्वक हेरिरहेको पनि हामी स्पष्ट पार्न चाहान्छौं । आफूलाई कम्युनिष्ट भन्ने मुलुकले धर्म र बुद्धिजमको कुरा गर्नुजस्तो ढोंग केही हुन सक्दैन ।
बुद्धिजमका नाममा लुम्बिनी वा उच्च पाहाडी भेगमा चीनको चासो, प्रवेश र सहभागिता कुनैपनि हालतमा स्वीकार्य हुन सक्कदैन । चीनको यो षड्यन्त्रबारे शतर्क हुन नेपाल रिपब्लिक पार्टी विश्वका समस्त बौद्ध धर्मावलम्वीहरु, नेपाल सरकार र अन्तराष्ट्रिय समेत हार्दिक अपील गर्दछ । राष्ट्रवाणी साप्ताहिकबाट साभार
तपाईको प्रतिक्रिया