सुनसरी, १८ कार्तिक । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् ।
इटहरी १६ कान्छीचौकदेखि वडहरा, डकाहा, पटेरुवा हुँदै जनसहयोग स्कुल जोड्ने बाटोको कालोपत्रे सडक निर्माण शिल्यान्यास गर्दै त्यसो भनेका हुन् ।
इटहरीको गौरवका योजनाका रुपमा संचालित बहुवर्षे योजनाअन्र्तगत यही आर्थिक वर्षमा कालोपत्रे भइसक्ने ११ सडकमध्ये यो एक हो ।
११ सडक निर्माण भइसक्दा करिब ३० किलोमिटर बाटो कालोपत्रे हुनेछ । प्रमुख चौधरीले पाँच वर्षे कार्यकालमा ५० किलोमिटर बढी सडक कालोपत्रे गर्ने योजना रहेको सुनाए । पाँच वर्षभित्रमा गाँउका मुख्य बाटोहरु कालोपत्रे भइसक्ने उनको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा भइरहेको विकासमा नो कमिसन, नो करप्सनको नीति अवलम्बन गरिएको बताए । उनले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन गाँउ–गाँउका सडक कालोपत्रे गर्ने बहुवर्षीय योजना संचालन गरिएको जानकारी दिए ।
उनले बहुवर्षे योजनाअन्र्तगत ११ वटा ग्रामीण सडक कालोपत्रे भइसकेपछि नगर बस संचालन गरेर गाउँ–गाउँका वासिन्दामा यातायातको सहज पहुँच पुर्याउने बताए ।
आफूहरु जनप्रतिनिधि भएयता बनेका सडकहरु गुणस्तरीय बनेको उनको दावी छ । कार्यक्रमलाई इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरी, १८ का वडाध्यक्ष रामकुमार चौधरी र २० का वडाध्यक्ष मणिराज श्रेष्ठले सम्बोधन गर्दै तीन वटा वडा जोड्ने यो मूल बाटो कालोपत्रे भएपछि ग्रामिण जनताले विकासको अनुभूति गर्ने बताए ।
इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेले करिव साढे छ किलोमिटर सडक निर्माण २०७७ मंसिर २९ गतेभन्दा एक दिन पनि पछि नजाने बताए ।
निर्माण कम्पनीका प्रतिनिधि सरोज बस्नेतले असारसम्ममै निर्माण सक्ने गरि काम हुने प्रतिबद्धता जनाए । इटहरीमा चालु आर्थिक वर्षमा यो समेत चार वटा बहुवर्षे सडक शिल्यान्यास गरिसकिएको छ । अरु सात सडक पनि चाँडै शिल्यान्यास गरिदै छ ।
तपाईको प्रतिक्रिया