सप्तरी, २६ कार्तिक । छठ पर्वको दोस्रो दिन आज बेलुका यहाँ व्रतालुले खरना प्रसाद ग्रहण गरेका छन् । आइतबार नुहाई खाई गरेर छठ व्रत लिएका महिला–पुरुषले आज सख्खरबाट बनेको खीर, पुडी, लड्डु, केराजस्ता फलफूल घरपरिवारका सदस्यलाई वितरण गरेर आफूले पनि ग्रहण गरेका छन् ।
चार दिनको यस पर्वमा व्रतालुले केराको पातमा खरना प्रसाद ग्रहण गरेपछि बुधबार बिहान छठ पर्व सम्पन्न नगरेसम्म निर्जला, निराहार व्रत बस्ने गर्दछन् । विशेष गरेर कात्तिक शुक्ल पक्षमा मनाइने छठ चौथीदेखि व्रतालु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
साझा सांस्कृतिक प्रतिबिम्बको पहिचान बनेको छठ पर्वको पहिलो दिन आइतबार व्रतालुले खोला, नदी, पोखरीलगायत जलाशयमा नुहाई धुवाई गरेर शुद्ध खाना खाई ‘अरबा–अरबाइन’ विधि गरे ।
यसै उपलक्ष्यमा राजविराजका भगवती, तुरन्ती, कल्टु दास, पूर्णी पोखरीलगायत जिल्लाका विभिन्न पोखरी एवम् जलाशय किनारामा सरसफाइ गरी बेहुलीझैँ शृङ्गार्दै स्थानीयवासी आकर्षक छठघाट बनाउन जुटेका छन् ।
छठ पर्वमा धार्मिक विधिपूर्वक ठेकुवा, भुसवा, टिकरी, मालपुवा, पुडकिया, पुडीका साथै मिठाई र मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, भोगटे, सुन्तला, केरा, उखु, माटोको हाथी राखी परिवारका सम्पूर्ण सदस्यका साथ विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयमा गई व्रतालुले मङ्गलबार साँझ र बुधबार बिहान अर्घ दिन्छन् ।
षष्ठीको दिन मङ्गलबार बेलुका अस्ताउँदो सूर्यलाई र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन गरिन्छ ।
तपाईको प्रतिक्रिया