जलेश्वर, ८ माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित राजदेवी सामुदायिक सिकाई केन्द्र जलेश्वरले एक कार्यक्रमकाबीच वैकल्पिक सिकाई केन्द्रका छात्रछात्राहरुलाई पोशाकसहित शैक्षिक सामग्री वितरण गरेको छ ।
जलेश्वर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा वैकल्पिक सिकाई केन्द्रका २५ जना छात्रछात्राहरुलाई स्कुल पोशाक, जुत्ता, शैक्षिक सामग्रीसहितको स्कुल व्याग वितरण गरिएको राजदेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष गजेन्द्र गुप्ताले जानकारी दिए ।
जलेश्वर नगरपालिका र युनिसेफको सहयोगमा सो सामग्रीहरु वितरण गरिएको बताउँदै अध्यक्ष गुप्ताले भने, ‘सामग्री पाएपछि छात्रछात्राहरुको पठनपाठनमा नियमितता हुने आफूहरुको विश्वास रहेको छ ।’
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका शाखा अधिकृत अरुणशंकर पाठकले प्रमुख अतिथिको रुपमा बोल्दै भने, ‘बालबालिकाहरुलाई जुन किसिमबाट विद्यालयतर्फ आकर्षित गर्न र पठनपाठनको वातावरण निर्माण भइरहेको यो खुशीको विषय हो ।’
हरेक स्थानीय तहले यस्तै गरी निरन्तरता दिने हो भने विद्यालय बाहिर कुनै पनि बालबालिकाहरु नरहने उनको तर्क थियो ।
कार्यक्रममा जलेश्वर नगरपालिका वडानं. २ का वडासदस्य बलविर गुप्ता, गणेश प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुकुमार चौधरी, रंजित चौधरी, सञ्चारकर्मी सञ्जित मण्डललगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया