विराटनगर, २८ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमा विवाद छलफल र वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।
उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारीसमेत दिएका छन् ।
‘अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुन्छ,’ उनले भने, ‘सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुनेछ ।’
उनले यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया