जनकपुरधाम, १४ कार्तिक । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ जनकपुरधामबाट गरिएको छ । हिन्दुहरूको महान चाड छठको पूर्वसन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वाधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रम मार्फत उपप्रधानमन्त्री सहितका अतिथिहरूले हातेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक संगम विश्वकै लागि अनुपम रहेको दावी गरे ।
उनले हिमालको चुचुरोदेखि तराई/मधेशका फाँटसम्मको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै धार्मिक आस्थाका केन्द्र जनकपुरधाम, लुम्बिनी लगायतका क्षेत्रहरू पर्यटक लोभ्याउन पर्याप्त रहेको जिकिर समेत गरे ।
मुलुकको समृद्धिका लागि पर्यटन प्रमुख आधार बन्न सक्ने तर्क गर्दै उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारहरूलाई हातेमालो गर्न आग्रह समेत गरे ।
कार्यक्रममा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटनको विकासका लागि संघीय सरकार तत्पर रहेको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकार प्रदेश भित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया शुरू गरि सकेको उल्लेख गर्दै यसमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गर्दै पर्यटकीय विकासमा संघ सरकारसँग हातेमालो गर्न एक कदम अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
उनले प्रदेश नं. २ को विकास विना मुलुकको समृद्धि सम्भव नरहेको जिकीर समेत गरे । प्रदेश सरकारले धार्मिक पर्यटनको महत्व बुझेर नै आफनो विकासको पहिलो कदम जानकी मन्दिरबाट शुरू गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अन्य पर्यटकीय स्थलहरूको विकासमा समेत प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री राम नरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरूले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरूले आफ्नो साँस्कृतिक प्रस्तुती समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया