जनकपुर–पोखरा हवाई यात्रा तत्काल शुरु गर्नुपर्छ : मुख्यमन्त्री राउत

समाचार

10/1/2019

जनकपुरधाम, १४ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् ।

गण्डकी प्रदेशले शुरु गरेको आन्तरिक पर्यटन वर्षको प्रचार प्रसारको क्रममा जनकपुर आइपुगेको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पर्यटनका सम्पूर्ण आधार हामी कहाँ रहेपनि प्रचार प्रसारको आभावमा पर्यटनलाई ल्याउन नसकेको यथार्थलाई मनन गर्दै प्रदेश सरकारले पर्यटकीय विकासलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।

मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक ऐतिहासिक महत्व तथा पोखराको प्राकृतिक सौन्दर्यतालाई जोड्न सक्यौं भने लाखौं पर्यटकलाई तान्न सकिने बताए ।

उनले यसका लागि जनकपुर–पोखरा हवाई यात्रा तत्काल शुरु गर्नु पर्ने बताए । विगतमा प्रचार प्रसार नभएकै कारण पर्यटनमा फड्को मार्न नसकेको भएपनि अबको जिम्मेवारी प्रदेश सरकारको रहेको हुनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

बाह्य पर्यटकले मात्र पर्यटकीय विकास सम्भव नरहेको उल्लेख गर्दै उनले आन्तरिक पर्यटनको प्रचार प्रसार समेत हुनु पर्नेमा जोड दिनु भयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश राय, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झासहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

गंगा सागरको डिलमा आयोजना गरिएको गण्डकी पर्यटन प्रवर्धन कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पर्यटन व्यवसायी विजय झुनझुनवाला सहितको उपस्थिति रहेको थियो । सो क्रममा पोखराको सचित्र प्रदर्शनी समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ