जलेश्वर, २१ पुस । बाबा जलेश्वरनाथ मन्दिर व्यवस्थापनका लागि गठन भएको तदर्थ समितिको पहिलो बैठकबाट जलेश्वरनाथ मन्दिर ट्रष्ट विधान मस्यौदा समिति, मन्दिरको नाममा छरिएर रहेका बैंक खाताहरुको एकीकरण, कार्यालय संचालनसहितको निर्णय गरिएको छ ।
तदर्थ समितिका अध्यक्ष एवं जलेश्वर नगरपालिका १ नम्बरका वडाअध्यक्ष अनिल झाको अध्यक्षता एवं प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाको विशेष उपस्थितीमा बसेको बैठकबाट यी निर्णयहरु गरिएका हुन् ।
महत्वपूर्ण निर्णयहरुमा मन्दिर परिसरभित्र नै समितिको कार्यालय रह्ने, मन्दिरको एकल बैंक खाता संचालन गर्ने गराउने, विशेश्वर महतोको संयोजकत्वमा ट्रष्ट विधान मस्यौदा समितिले कार्य अगाडि बढाउने एवं मन्दिर परिसरमा रहेको विभिन्न संघसंस्थाका कार्यालय त्यहाँबाट हटाइने सहितका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गठन भएको तदर्थ समितिमा प्रमुख राजनीति दलहरु, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ,नेपाल रेडक्रस सोसाइटीसहितका प्रतिनिधि एवं स्थानीय समाजसेवीहरुसहित २१ सदस्य छन् ।
तपाईको प्रतिक्रिया