काठमाडौं, १७ भाद्र । भारत सरकारको आर्थिक सहयोगमा झापाको एक विद्यालयमा निर्माण भएको विद्यालय भवन उद्घाटन गरिएको छ ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले झापा जिल्लाको गौरादह नगरपालिका वडा नं ५ मा अवस्थित श्री स्कुलचौन उच्च माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमतकुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायत नेपाल सरकारका राजनीतिक तथा आधिकारिक प्रतिनिधि, प्रदेश नं १ को राज्य सरकार, सामुदायिक अगुवा एवम् बहुसंख्यक रुपमा नेपाल–भारत साझेदारीका मित्रहरुको सहभागीता थियो ।
राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस स्कुल चौन उच्च माध्यमिक विद्यालय सन् १९६५ मा प्राथमिक विद्यालयबाट सुरु भई सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति भएको हो ।
यस विद्यालयले उच्च माध्यमिक तहका विभिन्न कार्यक्रमहरु प्रदान गर्दै आएको छ । विद्यालयमा करिब ११५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६०% छात्रा रहेका छन् । श्री स्कुलचौन उच्च माध्यमिक विद्यालय झापा जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ ।
भारत सरकारको ३.५७ करोड रुपैयाँ अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा २५ वटा कक्षा कोठाहरु रहेका छन् जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखा शाखा, बहुउद्देश्यीय कक्षका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएका छन् ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भारत सरकार यस परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको छ । साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना पनि गरेको छ ।
तपाईको प्रतिक्रिया