काठमाडौं, १२ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रमाणकै आधारमा सीमा विवाद समाधान गर्न भारतसँग टेबुलमा बस्ने बताएका छन् ।
सरकारका प्रवक्ता पनि रहेका मन्त्री बास्कोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सीमा विवादको विषयमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए । बास्कोटाले भने, ‘प्रमाणका आधारमा हामी भारतसँग टेबुलमा बस्न सक्छौँ ।’
उनले सीमा विवादको समाधानका लागि सरकारले परराष्ट्रमन्त्रालयमार्फत पहल गरिरहेको पनि बताए । ‘सीमा विवाद नयाँ होइन, यो पुरानो समस्या हो । यसको समाधानका लागि वार्ताको आरम्भ भइसकेको छ,’उनले भने ।
कालापानी र लिपुलेक नेपालकै भएको र प्रमाणका आधारमा लिम्पियाधुरासमेत दाबी गरेको उनले उल्लेख गरे । तथ्य र प्रमाणले स्थापित भएको कुरा भारतले स्वीकार गर्नुपर्ने उनको भनाइ छ । मन्त्री बाँस्कोटाले कालापानी मात्र नभएर सुस्ता पनि आफ्नै भएको बताए ।
यस्तै मन्त्री बास्कोटाले नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा टोली गठन गरेकामा वार्ता सम्पन्न भई भूजडित मुलुकबाट नेपाललाई जलमार्गजडित मुलुक बनाउन सहमति भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया