हुलाकी राजमार्गको ढिलाइप्रति चिन्ता 

समाचार

2/12/2019

जनकपुरधाम, २९ माघ । राष्ट्रिय योजना आयोगले जनकपुरमा १५औँ योजनाको आधारपत्र राय सङ्कलन प्रदेश नं २ स्तरीय परामर्श बैठक एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा विज्ञहरुले सत्ता, सरकार परिवर्तनसँगै हुलाकी राजमार्गको निर्माण कार्य प्रभावित भएकोमा चिन्ता व्यक्त गरे ।

सरकार परिवर्तनसँगै प्रधानमन्त्री र मन्त्रीले हुलाकी सडकको पुलको शिलान्यास गर्ने प्रवृत्तिले पनि यो परियोजना अधुरो र अन्योलमा रहेको सहभागीले बताए । हुलाकी सडकको निर्माण कार्यमा ठेकेदार काम नगर्ने तर लापरवाही गरी हिँडिरहे पनि कारवाही नहुने क्रियाकलापले समेत यो परियोजना फुटबल झैँ हुन पुगेको प्रसङ्ग उनीहरूले उल्लेख गरे ।

विगतमा कार्य नगरे पनि सुविधामाथि सुविधा लिँदै जाने प्रवृत्तिले राष्ट्रिय योजनाले तय गरेको नारा कागजमै सीमित भएको उदाहरण उनीहरूले प्रस्तुत गरे । योजना तर्जुमा सन्दर्भमा सही नीति र सही नियतको खाँचो औँल्याउँदै प्रदेश नंं २ मा कृषि, उद्योग र पर्यटनमा आधारित योजना,  चुरे संरक्षण, सुनकोशी–कमला र सुनकोशी मरिन परियोजना, पर्सा वनजन्तु संरक्षण परियोजना र हुलाकी सडक निर्माण कार्य गर्ने परियोजनाको आवश्यकता रहेको सहभागीले बताए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय योजना आयोगले प्रदेशको स्थितिलाई ध्यानमा राख्दै विशिष्टीकृत योजनाको तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रप्रसाद सोनारले मानवीय विकासमूलक परियोजना, दलित, डोम समुदायको उत्थान योजना र उत्पादनमूलक योजनाको तहगत गुरुयोजना निर्माण गरी स्थायी किसिमले विकास कार्य गर्नु जरूरी रहेको बताए ।

योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा पुष्पराज कँडेलले  प्रदेश नं २  नेपालको मुटु भए पनि विगतको माथिल्लो संरचनागत योजना बनाउने स्थितिले प्रदेश नं २ सबै क्षेत्रमा पछाडि परेको तथ्य चिन्तनीय रहेको चर्चा गरे ।उनले आयोगले हुलाकी राजमार्गको निर्माण कार्य ५ वर्षभित्र पूरा गर्ने, मरुभूमिकरणबाट बचाउन चुरेको संरक्षण, सुनकोशी–कमला र सुनकोशी डाइभर्शन योजना र उद्योग एवम् पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाम–सिम्रोनगढ पथ निर्माणबारे गम्भीरतापूर्वक छलफल भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ