दाइजो नल्याएको भन्दै घर निकाला

समाचार

11/6/2019

रौतहट, २० कार्तिक । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ करकच करमैयामा दाइजो नदिएको भन्दै श्रीमती बुहारीलाई ससुराली पक्षले घरबाट निकाला गरेको छ ।

कानूनी विबाह गरेकी बुहारीलाई दाइजो नल्याएको भन्दै लोग्ने, सासु, ससुरा, देवर, नन्द मिलेर कुटपिट गरी घर निकला गरेका छन् ।

प्रेमी प्रेमिकाबाट कानूनी र सामाजिक विबाह समेत गरेका स्थानीय रोनाल्स कुमार झाले आमा बुवा आफन्त नातेदारको बहकाउमा परी घरबाट निकाला गरेको पीडित महिला २८ वर्षीया जूही ठाकुरले बताएकी छिन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ मा बस्ने ठाकुरले प्रेम प्रेमिकाको भूमिकामा १ वर्ष बसेर गएको भदौ १५ गते सप्तरी जिल्ला अदालतबाट लोग्ने स्वास्नीको नाता कायम गराई कÞानूनी विबाह गरेको सुनाइन् ।

कानूनी विबाहपछि सामाजिक विबाह जानकी मन्दिर जनकपुरमा गरेको ठाकुरले सप्तरीमा बैंकमा कार्यरत रहेका झाले घर परिवारको सहमतिमा विबाह गरेको उल्लेख गरिन् ।

विवाह भएपछि रौतहटको गरुडामा रहेको सेन्चुरी बैंकमा कार्यरत झाले सम्पर्कविहीन भएको बताउँदै पीडित महिलाले कुनै सम्पर्क नहुँदा ससुराली घर करकच पुगेकोमा ससुरा सरोज कुमार झा, सासु रेनू झा, नन्द रौशनी झा, देवर रोहन झा सहित लोग्ने रोनाल्स झाले कुटपिट गरी घरमा प्रवेश गर्न नदिई बाहिर निकालेको कारण महिला हिंसामा परेको बताइन् ।

विवाह भएको तीन दिनपछि सप्तरीबाट रौतहट आएका लोग्नेले रौतहट जिल्ला अदालतमा सम्बन्ध विच्छेदको उनीमाथि मुद्दा दिएको समेत बताइन् ।

ससुराले छोरालाई ३० लाखसम्म दाइजो मिल्ने भएकोले त्यत्तिकै रकम ल्याए बुहारी स्वीकार्य गर्ने बताएको भन्दै ठाकुरले शिक्षित व्यक्तिले दाइजोको कुरो गर्नु कानून विपरीत भएको र हामी दुवै जनाले सहमतिमा विवाह गरेकोले दाइजो लिने दिने कुरो कहाँबाट आयो भनी भन्दा सानो सानो टुक्रा परी फाली दिने धमकी दिँदै कुटपिट गर्न लागेको बताइन् ।

घरेलु हिंसाको शिकार भएकी ठाकुरले न्यायका लागि महिला सेल गरुडामा उजुरी गर्दा लोग्ने झाले कार्तिक ३ गते अदालतमा सम्बन्ध विच्छेद मुद्दा हालीसकेको जानकारी गराएपछि आफु माथि बज्रपात भएको दुखेसो पोखिन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै ठाकुरले अन्तिम न्यायका लागि मिडियाको सहारामा आएको बताइन् ।

बेटी बचाउनु पर्ने नारा लाग्दै रहेको प्रदेश २ मा बेटी झन् असुरक्षित बन्दै गएकोले दाइजोको निहुँमा हिंसा गर्नेलाई कानूनी कारबाही गर्नुपर्ने माग गरिन् ।

प्रदेश सरकारलाई महिला हिंसाको विषयमा गंभीर हुनु पर्ने ध्यानाकर्षण गराउँदै पीडित ठाकुरले जिंदगी बर्वाद गर्नेलाई कÞानूनी कठघेरामा उभ्याएर छाड्ने ढृढता व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ