भारतको सहयोगमा दार्चुलामा विद्यालय निर्माण

समाचार

11/3/2019

काठमाडौं, १६ कार्तिक । भारतको सहयोगमा दार्चुलामा एक विद्यालयको निर्माण गरिएको छ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शुक्रबार श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालयकोे उद्घाटन गरे ।

उक्त उद्घाटन समारोहमा माननीय उप–प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता एवं दार्चुलाका सांसद दिलेन्द्र प्रसाद बडू, महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट, दार्चुला जिल्ला समन्वय समितिका प्रमुख करवीर सिंह कार्की लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताको सहभागीता थियोे ।

काठमाडौंस्थित भारतीय दुतावसले विज्ञप्ति मार्फत विद्यालयको भवन निर्माण भएर हस्तान्तरण भइसकेको जानकारी दिएको हो । सुदूर पश्चिम प्रदेश (प्रदेश नं ७) को दार्चुला जिल्लाको खलङ्गा गा.वि.स. मा अवस्थित श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालय सन् १९६० मा स्थापना भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा विज्ञान, मानविकी तथा व्यवस्थापन संकायका उच्च माध्यमिक तहका कार्यक्रमहरु सञ्चालित छन् । यस विद्यालयले शुलभ शुल्कमा प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दछ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार योग्य तथा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई यस विद्यालयले विविध छात्रवृत्ति प्रदान गर्दछ । विद्यालयले खेलकुद, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, शैक्षिक परामर्श, मल्टिमेडिया, छात्रवृत्ति, शैक्षिक भ्रमण, कक्षा कोठा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दछ । यस विद्यालयमा २००० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।

भारत सरकारको नेरु ३ करोड अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा सहित एउटा बैठक कक्षा, प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा एवं फर्निचरकोे पनि व्यवस्था रहेको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ दुतावासले निकालको विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ