दलितलाई खाद्यवस्तु र कम्बल राहत

समाचार

11/12/2018

 महोत्तरी, २६ कार्तिक । छठपर्वको मुखमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का दलितले खाद्य वस्तु र ओढ्ने कम्बल पाएका छन् । 

आइतबार बौद्ध भिक्षुहरूले सञ्चालन गरेका आशा र चुनौती नामक संस्थाले उक्त बस्तीको रामनगर, पलार, टोकाटोल र वनराथारुटोलमै पुगेर २०७ दलित परिवारलाई प्रतिपरिवार ३० किलो चामलको बोरा र एक÷एकवटा ओेढ्ने कम्बल प्रदान गरेको हो । 

तराईको मुख्य चाड छठको मुखमा आफूहरूलाई सम्झेर बौद्धभिक्षुकोे सहयोगले पर्वमा नानीहरूलाई खुवाउन र बढ्नै लागेको जाडो छल्न ठूलो राहत मिलेको रामनगरस्थित दलित बस्तीका अगुवा जुगल सादाले बताए ।

मुसहर, बाँतर, चमार, खत्वे र दुसाधसहित दलित जातिका परिवारलाई उक्त संस्थाका प्रमुख बौद्ध भिक्षु सोनाम वाङ्चेनले उक्त सामग्री प्रदान गरेका थिए ।

“सबैतिर पर्वको रमझम बढी रहेका बेला नानीहरूलाई के खुवाउला भन्ने चिन्ता थियो” पलार बस्तीकी सियानकीदेवी बाँतरले भनिन्, “गुरु (बौद्ध भिक्षु) ले खाने चामल र ओढ्ने कम्बल दिनुभयो, चाडबाडमा नानीहरू के खालान् भन्नु परेन ।”

 चाडबाडका बेला गरीब र समाजमा आर्थिक एवं अन्य अवसरबाट पछि परेका भङ्गाहा–४का चारवटै बस्तीका दलितसमुदायको अनुहारमा केही खुशी हेर्न पाइने आसले आफूहरूले थोरै सामग्री लिएर आएको बौद्धभिक्षु वाङ्चेनले बताए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ