प्रदेश १ मा धान उत्पादन घट्ने

समाचार

11/28/2019

विराटनगर, १२ मंसिर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन घटेको भएको छ । । अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५.२५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो ।

प्रदेशअन्तर्गत पर्ने १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमिनमा धान खेती गरिएको थियो । प्रदेश १ को तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेती गर्न सकिने भएपनि यस वर्ष तीन लाख २० हजार १३४ हेक्टरमा खेती गरिएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।
यस वर्ष प्रदेश १ मा ११ लाख १८ हजार ७४० मेट्रिक धान उत्पादन भएको अनुमानित विवरण निर्देशनालयले सार्वजनिक गरेको छ ।

किसानले अझै धान काट्ने र दाउनी गर्न बाँकी रहेकाले अन्तिम विवरण आउन केही समय पर्खनुपर्ने निर्देशनालयका सूचना अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए । 

निर्देशनालयका अनुसार अघिल्लो वर्षभन्दा ६२ हजार ९२५ मेट्रिक टन कम उत्पादन भएको हो । अघिल्लो वर्ष प्रदेश १ मा १२ लाख ६१ हजार ६६५ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष सोलुखुम्बुमा धान खेतीयोग्य शतप्रतिशत जमिनमा धान खेती गरिएको थियो । सालुखुम्बुको एक हजार ५२५ हेक्टर खेतबाट तीन हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ ।

त्यस्तै सबैभन्दा धैरै झापामा ८४ हजार ८७५ हेक्टर जमिनमा गरिएको धान बालीबाट तीन लाख ८१ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको छ । झापामा धानको उत्पादकत्व पनि सबैभन्दा राम्रो छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ