नदी नियन्त्रणमा सहयोग गर्न संघीय सरकारसँग मुख्यमन्त्री राउतको आग्रह

समाचार

7/29/2019

जनकपुरधाम, १३ साउन । प्रदेश नं. २ मा भीषण वर्षा र बाढीका कारण भएको क्षति बारे जानकारी गराउदै सहयोग जुटाउने उद्देश्यले काडमाण्डौ पुगेको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी नेतृत्वको सर्वदलीय टोलीले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग छलफल गरेको छ ।

मन्त्रालयको सभाकक्षमा भएको छलफलमा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकोले तत्कालीन र दीर्घकालीन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

कटानका कारण नदीको पानि सोझै गाँउमा पसिरहेकोले त्यस्ता ठाँउहरुमा तत्काल मर्मतको काम गर्नु पर्ने बताए । हाल मर्मत कार्यमा सहयोग गर्न संघीय मन्त्रीसँग आग्रह गर्दै उनले दीर्घकालीन रुपमा चुरे संरक्षण, चुरेमा भइरहेको अनियन्त्रित बसोवासको नियन्त्रण, नदीहरुमा पक्की तटबन्धको निर्माण सहितको योजना बनाउनु पर्ने बताए ।

उनले दीर्घकालिन योजना अनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा सोच्नु पर्ने आवश्यक समेत औल्याए ।

छलफल उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुनले आवश्यक रकम अर्थ मन्त्रालयसँग माग गरेर तत्काल गर्न सकिने कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको मुख्यमन्त्री राउतले बताए ।

छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिवका साथै प्राविधिक टोलीको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ