महोत्तरी, १० मंसिर । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् ।
आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।
जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ ।
महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमीदक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागूऔषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने प्रजिअ खत्रीको बिश्वास छ ।
पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका तीन वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । बलवा–२ र ८ एवं मटिहानी–६ सहित तीन वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदैछ ।
तपाईको प्रतिक्रिया