काठमाडौं, १३ असोज । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठक भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ ।
बैठकमा नेपालले प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न प्रस्ताव गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतसँग बढ्दै गएको व्यापारघाटा न्यूनीकरण, भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँच, गैरभन्सार अवरोध हटाउने र व्यापार नाकाका पूर्वाधार सुधार लगायतका विषयमा नेपालका तर्फबाट संशोधन प्रस्ताव राखिएको हो ।
असोज ९ र १० गते भारतको नयाँ दिल्लीमा भएको उक्त बैठकमा नेपालका तर्फबाट निकासी हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने प्रावधानमा सरल गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो ।
द्विपक्षीय व्यापारलाई सहज र अवरोधरहित बनाउन एक–अर्काे मुलुकका प्रयोगशालाबाट जारी गरिएका प्रमाणपत्रलाई मान्यता दिने तथा तरकारी, फलफूल र जडीबुटीको निकासीलाई सहज गराउने विषयमा पनि दुवै देशका अधिकारीबीच गहन र विस्तृतरुपमा छलफल भएको बताइएको छ ।
जलमार्ग उपयोगसम्बन्धी प्रावधान नेपाल–भारत पारवाहन सन्धिमा समावेशपश्चात नेपालले कोलकाता-हल्दियाबाट गङ्गा नदीमा निर्मित भारतको आन्तरिक जलमार्ग प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाजसमेत सञ्चालन गर्ने तथा भारतको शाहिबगञ्ज, कालुघाट र बनारसमा रहेका आन्तरिक जल यातायातका टर्मिनल प्रयोग गरी बहुप्राविधिक ढुवानीमार्फत नेपाली सामान ढुवानी गर्नसक्ने सुविधा हुने छ ।
तपाईको प्रतिक्रिया