नेपाल खुल्ला दिसामुक्त हुनु गौरवको विषय हो : मन्त्री सोनल

समाचार

9/30/2019

काठमाडौं, १३ असोज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल खुल्ला दिसामुक्त हुनु नेपालीका लागि गौरवको विषय रहेको बताएका छन् ।

सोमबार ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सोनलले यस्तो कुरा बताएका हुन् ।

उनले प्रदेश २ मा खुल्ला दिसामुक्त अभियान चलाइरहँदा विभिन्न अवसर र चुनौतीहरुको सामना गर्नुपरेको अनुभव सुनाए । ‘यो अभियान चलाउँदा धेरै अवसर र चुनौती थियो । यस्तो समस्या सातै प्रदेश थियो’ उनले भने, ‘तर पनि हामीले यो ऐतिहासिक सफलता प्राप्त ग¥यौं ।’

खुला दिसामुक्त हुनु नेपालकै लागि यो गौरवको विषय रहेको उनले बताए । ‘नेपाली समाजका लागि यो प्रतिष्ठा र सम्मानसँग जोडिएको हो । सभ्यता र संस्कृतिसँग जोडिएको विषय हो,’ मन्त्री सोनलले भने ।

उनले अब नेपालीले छाती फुलाएर विश्वमै सभ्य देशका नागरिक भएको भन्ने चिनाउन गर्व गर्ने बताए । पाँच वर्षमै नेपालले यस्तो सफलता हासिल गरेको मन्त्री सोनलले जिकिर गरे ।

खुल्ला दिसामुक्त नेपाललाई सफल बनाउन उनले पोष्ट ओडिएफ कार्यक्रम सञ्चालन गर्न सुझाव पनि दिएका छन् । उनले पोष्ट ओडिएफ कार्यक्रम सञ्चालन गरेपछि मात्र यसलाई स्थायित्व दिन सकिने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ