काठमाडौं, २४ भाद्र । बहुप्रतिक्षित अन्तर्देशीय पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन गरिएको छ ।
भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गरे ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो ।
पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ।
तिहारी(अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ ।
परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ ।
निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।
तपाईको प्रतिक्रिया