काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताएका छन् ।
अन्तर हिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
अरु देशका मानिसहरु ढुंगाको भरमा शिकार गर्दैै गर्दा नेपालमा बेदका ऋचाहरुको रचना भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “न्यूटनले गूरुत्व आकर्षणको नियम पत्ता लगाउनु भन्दा धेरै अघि भाष्करचार्यले यो नियम पत्ता लगाएका हुन्” प्रधानमन्त्री ओलीले भने, “उनीहरुले प्रचार प्रसार गरेर हाम्रा पुर्खाले पत्ता लगाएको कुरालाई ओझेल पारे ।” पुर्खाहरुले आफ्नो अनुभुतीलाई ज्ञानको रुपमा विकास गर्न हजारौं बर्ष अघि योगदान गरेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले व्यवस्था परिवर्तन भएर थिती बिधी बसेको बताएका छन् । कतिपयलाई थिती र बिधिको शासन मन नपरेर पुरानै धङधङी पालेर बसेको प्रधानमन्त्रीको भनाइ छ ।
कुनैबेला पुर्खाहरुले भन्ने गरेको ‘सर्वे भवन्तु सुखिन’लाई वर्तमान सरकारले राष्ट्रिय आकांक्षाको रुपमा सुखी नेपाली समृद्ध नेपालको रुपमा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाली संस्कृती सभ्यताको परिचायक भएको बताउंदै प्रधानमन्त्री ओलीले नेपालीहरुलाई साँस्कृतिक रुपमा पनि पूर्वजनहरुले बाटो देखाइदिएको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया