निर्देशनालयको कारण प्रदेश सरकार लज्जित हुनुपरेको छ : राज्यमन्त्री यादव

समाचार

9/29/2019

रौतहट, १२ असोज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश मातहतका कृषि निर्देशनालय र पशु निर्देशनालयको कारण प्रदेश सरकार लज्जास्पद अवस्थाबाट गुज्रिनु परेको बताएका छन् ।

शनिवार रौतहट जिल्लाको गौरमा जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले १३औ विश्व रेबीज दिवसको अवसरमा आयोजना गरेको आर्थिक वर्ष २०७६।०७७ को वार्षिक स्वीकृत कार्यक्रमहरुको सार्वजनीकरण कार्यक्रममा प्रमुख आतिथिको आसन्नबाट सम्बोधन गर्दै कृषि राज्यमन्त्री यादवले प्रदेश सरकारले दिएको बजेट पूर्ण रुपमा खर्च गर्न नसकेको कारण प्रदेश सरकारले प्रगति विबरणमा लज्जास्पद अवस्था बेहोरिनु परेको टिपण्णी गरे ।

उनले गएको आर्थिक वर्षमा दुईटै निर्देशनालयलाई कृषि र पशुको क्षेत्रमा कार्यक्रम गर्न ६६ करोड़ रकम उपलब्ध गराइएकोमा १० प्रतिशतसम्म पनि खर्च गर्न नसकिदा प्रगति विवरणमा ह्रास आएको बताए ।

किसानहरुको चाहनाअनुसार बजेट कार्यक्रम आउने विश्वास व्यक्त गर्दै राज्यमन्त्री यादवले संघीय सरकार प्रादेशिक सरकार र स्थानीय सरकारबीच सहकार्य समन्वय जरूरी रहेको जोड दिए ।

तीन तहको सरकारबीच आपसी तालमेल र कानून निर्माणको कार्य जारी रहेको तथा केहि कानून विधेयक संसदमा विचाराधीन रहेकोले कÞानूनी जटिलता उत्पन्न भैरहेको जिकिर गरे ।

राज्यमन्त्री यादवले कानून निर्माण नभएसम्म प्रदेश सरकारले जारी गरेको निर्देशिकाअनुसार कार्य गर्न सुझाव दिँदै कानून विपरीत तथा निर्देशिका विपरीत कार्य गरेमा कर्मचारी, मन्त्रीसमेत कार्यवाहीमा पर्ने चेतावनी दिए ।

प्रदेश सरकारले पशु अस्पतालको व्यवस्थित रुपमा बनाउने उद्देश्यले ४ करोडभन्दा बढीको बजेट दिएपनि जिल्ला भेटेनरी अस्पतालले टेण्डर समेत गर्न नसकि रकम फ्रिज गराएको प्रति चिंता व्यक्त गरे ।

कार्यक्रममा निमित कार्यालय प्रमुख सरोज यादवले कर्मचारीको अभावको कारण गएको आर्थिक वर्षमा ४ करोड ३१ लाख रुपैया फ्रिज भएको बताएका छन् ।

पशु कार्यालयमा अपुग बजेटको कारण कार्यक्रम सञ्चालन गर्न कठिनाई भैरहेकोले शीर्षक अनुसार पुग्ने गरी बजेट व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

यादवले विशेषज्ञको अभाव, दक्ष प्राविधिकको अभाव, चाहिने पशु चिकित्सक नभएको कारण पशुपक्षीको अकाल मृत्यु भैरहेकोले यसतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह समेत गरेका छन् ।

विश्व रेबीज दिवसको अवसरमा खोप लगाउ रेबीज भगाऊ नारा सहित प्रभात फेरी आयोजना समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ