रौतहट, १ साउन । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरका ७० घर परिवार पाँच दिनदेखि लाल बकैया नदीको बाँधमा त्रिपाल मुनि गुजारा गरिरहेका छन् ।
असार २८ गतेका दिन लालबकैया नदीमा आएको बाढीले घर क्षतिग्रस्त, डुबानमा परेको दिनदेखि बाँधमा सहारा लिएका छन् ।
दलित समुदायका करीब ८० घर परिवारले सानो बच्चासहित पाल मुनि गुजरा गरीरहे पनि हालसम्म कुनै राहत नपाएको दुखेसो बाढी पीडितहरुले गरेका छन् ।
नदीको पूर्व तर्फमा निर्माण गरिएको तटबन्धमा ५ दिनदेखि बसेको छु, कोही कसैले हेर्न पनि नआएको पीडित शेख नासिरले बताएका छन् ।
उनले भने बाढीले नहर भत्काइ दिएको छ । आवागमन गर्न समस्या रहेको छ, घरमा बस्ने अवस्था छैन अरु ठाउँमा राहत वितरण गरे पनि हामीलाइ कसैले देख्न पनि आएनन् ।
पानी पर्दा पालमुनि परिवार लुकेर बस्छौ भन्दै नासिरले नगरपालिकाका प्रमुख मोहमद सकिल अख्तर १ दिन पनि हाल खबर बुझ्न नआएको बताए ।
शुद्ध खाने पानीको आभाव रहेको छ । बाँधमै खाना पकाएर खाने गरेको बताउँदै यहाँ बसेका सबै महिला पुरुष, बृद्धबृद्धा, बालबालिकाहरु कस्टकर जीवन बिताइरहेका छन् ।
स्थानीय राम एकवाल रामले एक दिन वडा अध्यक्षले चिउरा दिएको बताए । ५ दिन भए पनि ४ दिनदेखि कोही आएन हामी गाउँदेखि बाहिर बाँधमै ज्यान जोखिममा राखेर बस्न बाध्य भएका छौ, उनले भने चुनावको बेला ठूल–ठूला कुरा गर्ने नेता विपद परेको बेला हेर्न पनि रुचाएका छैनन् ।
बाँधको नजिक भएर नदी बगीरहेकोले जोखिम पुर्ण अवस्था रहेको छ । सानो सानो बालबालिकाहरुलाई देखे पछि हृदय दुखित हुन्छ । विपदको बेलामा समयमै राहत, उद्धार व्यवस्थापन गर्नु पर्ने जरुरी रहेको छ । राजपुर नगरपालिकाले नगर क्षेत्र भित्रका प्रभावित क्षेत्रमा तुरन्त राहत पठाउनु पर्ने आवश्यक रहेको छ ।
तपाईको प्रतिक्रिया