राकेश प्रसाद चौधरी, महोत्तरी, ९ साउन । असार महिनाको अन्तिम साता आएको बाढीले महोत्तरीको शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको छ ।
शनिबारकै दिन बाढी आएकोले दुई दिन बाहेक सम्पन्न हुन बाँकि रहेको त्रैमासिक परीक्षा समेत स्थगित भएको छ । बाढीले जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकामा पठनपाठन प्रभावित हुनुका साथै विद्यालयहरुमा भौतिक क्षति पुगेको छ ।
बाढीको कारण जलेश्वर, मटिहानी, मनरासिस्वा, लाहोरपट्टि, गौशाला नगरपालिका एवं एकडारा, पिपरा, महोत्तरी, सोनमा, समसी गाउँपालिकाका अधिकांश विद्यालयहरु पीडितको आश्रयस्थल बनेको थियो । हप्ता दिन भइसक्दा समेत जलेश्वरस्थित महेन्द्र माध्यमिक विद्यालयमा नजिकैको दलित बस्तीका बाढी पीडितहरुको आश्रय स्थावत् छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ महोत्तरीका प्रमुख शत्रुधन यादवले विद्यालयहरूमा अध्ययनरत एक लाख विद्यार्थी प्रभावित भएको बताए । जिल्लाको ३८८ विद्यालयमा १ लाख २९ हजार ९४६ विद्यार्थी अध्ययनरत छन् । जिल्लामा संचालित ५४६ मध्ये ४२५ बालविकास केन्द्रमा १६ हजार २८६ बालबालिका अध्ययनरत छन् ।
प्रमुख यादवले बाढीको कारण अधिकांश बालविकास केन्द्रको कार्पेट तथा शैक्षिक सामग्री कामै नलाग्ने भएको बताए । गौशाला नगरपालिका ६ स्थित मावि फुलकाहाको २० वटा कम्प्युटर पानी पसेर बिग्रेको छ । त्यही महेन्द्र आर्दश मावि जलेश्वर, राममावि मटिहानी, मा.वि, सुन्दरपुर मा.वि एकडारा मा.वि, भ्रमरपुरा एवं गोबरैया सोनमा, मुनरी भटौलिया, रामजानकी मटिहानी, पिपरा, बहेडा, विश्वम्भरपूर सहितको आधारभूत माध्यमिक विद्यालयहरुमा पर्खाल, भवनको केही भाग क्षतिग्रस्त छन् ।
त्यस्तै भगवतीपूर, थलनी, चकवा, बनौली, बान्हटोल गौशाला, बीरेन्द्र गौशला, बडेरबागौशलामा रहेको विद्यालयहरुमा समेत क्षति भएको शिक्षा विकास तथा समन्वय ईकाइले जनाएको छ । बस्ती तथा विद्यालयहरुमा भएको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताइएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाइ महोत्तरीका प्रमुख यादवले दातृ निकायहरुसँग तत्काल बालविकास संचालन गर्न सहयोग माग गरेका छन् । बाढीको कारण विद्यालयहरुमा अध्ययनरत ३४ हजार १०८ दलित बालबालिकामध्ये अधिकांशको पुस्तक भिजेको तथा क्षति पुगेको दलित केन्द्रित कार्यक्रम गरिरहेको साझा आवाज परियोजनाले जनाएको छ ।
प्रदेश नम्बर २ प्रहरी कार्यालयले बाढीको कारण महोत्तरीमा सातजनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा छ जनाबालक रहेका छन् । असार २९ गतेदेखि साउन १ गते भित्रमा मृत्यु हुनेमा भंगहा नगरपालिका ४ का नाम नखुलेको १६ महिने बालक, जलेश्वर ८ बजराहीका १२ बर्षीय प्रशान्त ठाकुर, पिपराका १३ बर्षीय युवराज ठाकुर, सोनमा गाउँपालिका १ का ५ बर्षीय ईन्ताजनदाफ, छ बर्षीय अनरुदिन नदाफ, मटिहानी नगरपालिका ६ कापंकज यादव छन् ।
बाढीको बेला बालबालिका बढी जोखिममा रहेकोले अभिभावकहरुले ध्यान दिनुपर्ने लगायतका सूचनाहरु स्थानीय एफ.एमहरुबाट समेत प्रशारण हुन थालेको छ ।
तपाईको प्रतिक्रिया