रुपन्देही, २० कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमवीच ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा मंगलबार सम्पन्न भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय र ५ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा उक्त गोष्ठी सोमबारदेखि सुरु भएको हो ।
उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीमा प्रदेशको मात्र नभइ देशकै सुरक्षा स्थितिका बारेमा गम्भीर रुपमा समीक्षा भएको उल्लेख गर्दै सुरक्षा सुदृढ गर्नका लागि आवश्यक रणनीति र योजनाहरुलाई परिमार्जन गर्न प्राप्त सुझावहरु महत्वपूर्ण रहेको बताए ।
प्रदेशको सुरक्षा सुदृढ गर्न तथा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई प्राप्त गर्न गोष्ठीले महत्वपूर्ण योगदान पुर्या्उने विश्वास व्यक्त गर्दै गृहमन्त्री थापाले रचनात्मक सुझावलाई मन्त्रालयकोतर्फबाट पुरा गर्न गम्भीर रुपमा लिएको उल्लेख गरे ।
मुलुकमा राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक र सीमा सुरक्षा सम्बन्धि चुनौती रहेको चर्चा गर्दै गृहमन्त्री थापाले यस्ता चुनौतीलाई सरकारले सफलतापुर्वक सामना गर्दै आएको र आगामी दिनमा सुरक्षा नीतिलाई अझ विकास गर्दै मुलुकको शान्ति र स्थिरता सुदृढ बनाउन थप योगदान दिन लाग्नुपर्ने बताए ।
तस्करी, कालो बजारी, ठगी, राजस्व छलीलाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाई गम्भीर रुपमा काम गरी अझै गुणात्मक बनाउनु पर्नेमा उहाँले जोड दिए ।
अबका दिनमा सबै मिलेर मुलुकलाई समृद्ध बनाउनेतिर सक्रियताकासाथ लाग्न र समाजमा शान्ति सुरक्षा कायम गर्न गोष्ठीका निष्कर्ष फलदायी हुने विचार उनले व्यक्त गरे ।
तपाईको प्रतिक्रिया