जनकपुरधाम, ३ असोज । संविधान दिवस २०७६ भव्यरुपमा मनाउने निर्णय गरेको प्रदेश २ को सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले कुनै कार्यक्रममा सहभागिता जनाएका छैनन् ।
प्रदेश २ को सरकारले आफैले गरेको निर्णय विपरीत मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीसहित कुनै पनि मन्त्री वा राज्यमन्त्रीहरु संविधान दिवसका कार्यक्रमहरुमा सहभागी भएनन् । उनीहरुले अघोषितरुपमा संविधान दिवसलाई बहिष्कार गरेका छन् ।
प्रदेश २ का सरकारले संविधान दिवस मनाउने निर्णय गर्दा सत्ता साझेदार राजपा नेपालका मन्त्रीहरु असन्तुष्ट भएका थिए र कालो दिवस मनाउने निर्णय गरेका थिए ।
संविधान दिवस मनाउने निर्णयप्रति सामाजिक सञ्जालमा प्रदेश सरकारको कडा आलोचना भएको थियो । समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारको यस्तो निर्णयको मधेशमा व्यापक विरोध भएपछि कुनै पनि कार्यक्रममा मुख्यमन्त्री वा मन्त्रीहरु गएनन् ।
प्रदेश सरकारले संविधान दिवसको अवसरमा प्रभातफेरी बाहेक अन्य कुनै पनि कार्यक्रम गरेको छैन । कर्मचारीहरुले मात्र केही कार्यक्रमहरु गर्दै आएका छन् ।
यता, सत्ता साझेदार दल राजपाले देशैभरि संविधानको विरोधमा विभिन्न कार्यक्रमहरु गरेको छ भने समाजवादी पार्टी मौन बसेको छ ।
यही संविधानअनुसार सत्ता, भत्ता र अवसरहरुको उपयोग गर्ने तर संविधानलाई कालो भन्दै जनता झुक्याउने काम गरिरहेको भन्दै आलोचना पनि भइरहेको छ ।
तपाईको प्रतिक्रिया