रुपन्देही, १८ कार्तिक । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सोमबारदेखि सुरू भएको छ ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा सुरू भएको उक्त गोष्ठीको सोमबारको सत्र सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, प्रहरीले सम्पादन गरेका समग्र कार्य, हालसम्म प्राप्त उपलब्धीहरु लगायतका विषयमा चर्चा गर्दै दन्डहिनताको अन्त्यका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए ।
गौतम बुद्धको जन्मस्थल शान्तिको प्रतीकको रुपमा चिनिएको सन्दर्भमा नेपाल प्रहरीले कानुनको उचित कार्यान्वयन गर्दै शान्ति सुरक्षा कायम गरी शान्तिको प्रतीकलाई थप चिनाउने काम गरेको उनले उल्लेख गरे ।
प्रहरीका काम कारवाही पारदर्शी हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीलाई बदनाम बनाई मनोबल घटाउन खोज्ने तत्वलाई निस्तेज बनाई मनोबल अझै बढाउन सबै मिलेर जानुपर्ने बताए ।
उचित व्यक्तिलाई उचित स्थान दिने नीति अवलम्बन गरी काम गर्दै अपराध गरी विदेशमा भागेका र विदेशमा अपराध गरी नेपाल आई लुकेका अपराधीहरुलाई समेत कानुनको दायरामा ल्याउने लगायत काम गरी असम्भवलाई पनि नेपाल प्रहरीले सम्भव बनाएको उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल सुखी नेपालीको नीतिप्रति नेपाल प्रहरी कटिवद्ध भई अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अन्तर्रा्ष्ट्रिय रुपमा लैजानु पर्नेमा जोड दिँदै नागरिकसँगै मिलेर सुरक्षा सुदृढिकरणमा लाग्न साझेदारी कार्यक्रमले मद्दत पुर्या्एको उनले बताए ।
विभिन्न बक्ताहरु समेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेको गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।
मंगलबार सम्पन्न हुने उक्त गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सल्लाहकार प्रा.डा. ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदका प्रमुख सचिव तोय नारायण ज्ञवाली, ५ नम्बर प्रदेश हेडक्वाटर नेपाली सेना मध्यपश्चिम पृतना बुटवल रुपन्देहीका पृतनापति उपरथी सिताराम खड्का, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेशका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, १२ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया